कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन्। २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन्। लामो मेहनतपछि पहिलो प्रयासमै दिदीबहिनी सँगै अधिकृत बन्न पाउँदा निकै खुसी छन्।
शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै हाजिर भएका छन्। उनीहरुको पारिवारिक अवस्था सामान्य छ। पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन्। उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन्।
जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षक छिन्। उनी अहिले महेन्द्रनगर उच्च माध्यमिक विद्यालय साधारण मा कार्यरत छिन्। माइली दिदी विष्ना स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छिन्। पार्वती साँहिली हुन् भने बसन्ती कान्छी।
खरिदारदेखि अधिकृत – पार्वती र बसन्तीले खरिदार सरह पदमा नाम निकालेर निजामती सेवामा पाइला टेकेका थिए। वि।सं। २०५१ सालमा जन्मिएकी पार्वती १९ वर्षको उमेरमा नै सरकारी सेवामा प्रवेश गरेकी थिइन्। स्नातक अध्ययन गर्दै गर्दा उनले वि.सं. २०७२ सालमा विविध सेवा अन्तर्गत खरिदार सरह सहायक महिला विकास निरीक्षकमा नाम निकालिन्।
पार्वतीले वि।सं। २०७१ मा सरकारी सेवामा जान प्रयास गरेकी थिइन्। त्यस बेला प्रशासनतर्फ खरिदारमा आवेदन दिएकी उनी वैकल्पिकमा परिन्। घरमा थाहा नदिएरै उनले आवेदन दिएकी थिइन्। वैकल्पिकको सूचीमा पार्वतीको नाम देखेपछि मात्रै घरमा थाहा भएको थियो। १८ वर्षको उमेरमै घरमा नभनी फाराम भरेकी थिएँ, वैकल्पिकमा नाम आयो,’ पार्वतीले नेपालखबरसँग भनिन्, ‘पछि मात्रै घरमा थाहा भएको थियो।
वैकल्पिकमा नाम आएपछि गर्न सक्छु भनेर मेरो आत्मविश्वास बढ्दै गयो।’ त्यसको एक वर्षपछि २०७२ मा प्रशासनतर्फ खरिदार र विविध सेवातर्फ सहायक महिला विकास निरीक्षकमा लडेकी थिइन्। यस पटक पार्वती सहायक महिला विकास निरीक्षकमा उत्तीर्ण भइन्। र, प्रशासनतर्फ खरिदारमा भने उनी वैकल्पिकमा परिन्।
सहायक महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वतीलाई कञ्चनपुर महिला तथा बालबालिका कार्यालयमा खटाइएको थियो। वि।सं। २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएकी उनी कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिकामा खटिइन्। वि।सं। २०७६ मा स्थानीय तहको सुब्बा सरह विविधतर्फ ५ औँ सहायकस्तर महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वती बेलौरी नगरपालिकामा पदस्थापन भएकी थिइन्।
वि।सं। २०५३ सालमा जन्मिएकी बहिनी बसन्ती पनि २३ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरेकी थिइन्। उनले वि।सं। २०७६ मा स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालिन्। र, बेलौरी नगरपालिकामा वडा सचिवको जिम्मेवारी पाएकी थिइन्।
प्रतिकृया दिनुहोस्