बिहिबार , जेठ २५, २०८०

एउटा प्रेमकथा अन्त्य: इन्गेजमेन्ट तोड्दा ‘हग’ गरेर नियाउरो अनुहार बनाउँदै छुटेकी थिइन् पुष्पा !

मंग्सिर २३, २०७९ शुक्रबार 503

पुष्पा न्यौपाने काठमाडौँको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका । नुवाकोट घर भएकी २७ वर्षीया पुष्पा व्यापारिक घरानामा जन्मिइन् । आर्थिक प्रशासनमा स्नातकोत्तर गरेकी पुष्पालाई केल्मीका लगानीकर्ता काका उत्तम न्यौपानेले उनैको नाममा शोरुम दर्ता गरिदिए । तर, करिअरको सिँढी चढ्दै गरेकी पुष्पाले १८ मङ्सिरमा आफैँलाई जलाउने निर्णय गरिन् ।

धुम्बाराहीस्थित प्रेमी सुधन सङ्ग्रौलाको घरको गेटमा गएर पेट्रोल छर्केर उनले आत्मदाह गरेकी हुन् । पुष्पाले आफैँलाई जलाउने निर्णय गर्नुको कारण हो–‘प्रेमीसँगको सम्बन्धमा आएको खटपट ।’

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा परिवारसँग बस्ने पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले मङ्सिर १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे ।

प्रेमीले इन्गेजमेन्टको जनै–सुपारी फिर्ता गरेको भोलिपल्ट आफैँलाई आगो लगाएकी पुष्पाको मङ्सिर १९ मा कीर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । मङ्सिर १७ मा दुवैतर्फका परिवार बसेर बुद्धनगरस्थित पुष्पाको घरमा इन्गेजमेन्ट तोडेका हुन् । सँगै जिउने बाचा तोडेको दिन पुष्पाले परिवार साक्षी राखेर सुधनलाई भनिन्–‘हजुरभन्दा राम्रै केटा पाउँछु ।’

घरको माथिल्लो तलामा सुधनलाई जवाफ लगाए पनि प्रेमीका परिवार छुट्ने बेला पुष्पा गेटसम्म बिदा गर्न गइन् । उनलाई परिवारका सदस्यले भने–‘सम्बन्ध टुटेपछि बिदाइ गर्न नजाऊ !’ तर, उनले मानिनन् ।

गेटमा सुधनलाई हग गरिन् । भनिन्–‘आवेशमा केही बोलेको हुँला, माफी चाहन्छु ।’ अनि, केटाका परिवार त्यहाँबाट बिदा भए ।

भोलिपल्ट ५ लिटर क्षमताको जर्किनमा पेट्रोल लिएर लिएर उनी प्रेमीको घरको गेटमा पुगिन् । करिब आधा जर्किन पेट्रोल खन्याएर आफैँलाई जलाइन् । प्रहरी कन्ट्रोलमा खबर आयो–‘धुम्बराहीमा एकजना मान्छे जलिरहेको छ ।’

प्रहरी वृत्त महाराजगञ्जको टोली तत्काल घटनास्थलमा गयो । ‘हाम्रो टोली पुग्दा कपडा जलिसकेको थियो’ प्रहरी वृत्त महाराजगञ्जका एकजना अधिकृत भन्छन्–‘त्यसपछि तत्काल उहाँलाई अस्पताल लग्यौँ ।’

सुधनका दाजु मधु सङ्ग्रौलाले पुष्पा जस्तै मानिस जलेको देखेपछि उनको बुवालाई खबर गरेको बताएका छन् । उनी भन्छन्–‘हामीले घरबाट हेर्दा घटनास्थलमा अरू मानिस जम्मा भैसकेका थिए, तत्काल प्रहरी आइपुग्यो ।’

त्रिवि शिक्षण अस्पताल हुँदै कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारको क्रममा पुष्पाले ज्यान गुमाइन् ।

प्रतिकृया दिनुहोस्