काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले डा.प्रशन्ना शाह मृत्यु प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।
शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए । जोहेरीका आधारमा प्रहरीले उनीहरूविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेको छ । दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माया मेट्रो अस्पतालमा कार्यरत डा.सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् ।
भारतको बङ्गलोरबाट एमबीबीएस फिजियोथेरापीको अध्ययन गरेकी डा.शाह दुई वर्षदेखि मायामेट्रो अस्पतालमा कार्यरत थिइन् ।
डा.शाह र धनगढीका युवक विकल केसीको पहिल्यैदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा पत्ता लगाएको छ । केसीको परिवारले पनि दुबै जना प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन् । फागुनदेखि डा.शाह र केसीको सम्बन्ध टुटेको दुबै परिवारले बताएका छन् ।
केसी सडक दुर्घटनामा परेपछि दुबैको भेटघाट र कुराकानी हुन छोडेको शाह र केसीका आफन्तले बताएका छन् । डा.शाह प्रेम सम्बन्धमा छिन् भन्ने जानकारी मायामेट्रो अस्पातलमा फिजियोथेरापी विभागमा कार्यरत डा.सन्दीप भट्टराईलाई थियो । केसी दुर्घटनामा परेको मौकाछोपेर डा.भट्टराईले मृतक डा.शाहसँग सम्बन्ध बनाएको मृतक डा.शाहको परिवार र अस्पताल स्रोतको दाबी छ ।
डा.भट्टराईको नैतिक आचरणमा साथीहरू पनि बेलाबेला प्रश्न उठाउने गरेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा फेला पारेको छ । डा.भट्टराईले मृतक डा.शाहसँग देखावटी प्रेम गरेको सहकर्मीको भनाइ छ ।
मृतक डा.शाहलाई ६ महिनादेखि आफ्नो नियन्त्रणमा लिएर डा.भट्टराईले केसीको मोबाइल नम्बर ब्लक गर्न लगाएका सहकर्मीले बताएका छन् ।
डा.शाह र डा.भट्टराईबीच केही महिनादेखि झगडा हुन थालेको अस्पताल स्रोतले जनाएको छ । डा.शाहको परिवारमा डा.भट्टराईसँगको सम्बन्धबारे भने कुनै जनाकारी थिएन ।
जेठ १ गते मृतक डा.शाहको जन्मदिन परेको थियो । असार ८ गते दाईको विवाह हुने तय भएको थियो । शुक्रबार डा.शाहको आमासँग दाइको विवाहका लागि सामान किन्न पलिया जाने योजना थियो ।
पूर्व प्रेमी केसीको परिवारमा केटी खोजेर विवाह गर्ने चर्चा चल्न थालेको थियो । जेठ १ गते जन्मदिनको अवसर पारेर डा.शाहसँग कुरा फाइनल गर्ने पक्षमा केसी रहेका थिए । डा.भट्टराईले डा.शाहलाई केसीसँग भेट गर्न नदिएको अस्पताल स्रोतको दाबी छ ।
केसीले अन्तिम कुराकानी गर्न अस्पतालको ल्यान्डलाइनमका पनि पटक पटक फोन गरे पनि कुराकानी भने नभएको केसीको परिवारले बताएको छ ।
डा.शाहले विवाह गर्न चाहेको तर, डा.भट्टराईले इन्कार गरेको आशंका गरिएको छ । प्रेममा धोका र बदलामा ब्ल्याकमेलिङ र टर्चर सहन गर्न नसकेर डा.शाहले मृत्यु रोजेको हुनसक्ने अनुमान सहकर्मी र परिवारजनले गरेका छन् ।
आत्महत्या दुरुत्सानको मुद्दा दर्ता भएपछि पूर्व प्रेमी केसी आफैं प्रहरीको सम्पर्कमा गएका छन् । डा.शाहको मृत्यु भएपछि डा.भट्टराई फरार भएका थिए । पछि प्रहरीले डा.भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिकृया दिनुहोस्