बिहिबार , जेठ २५, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा बोले पूर्वराजा

जेठ ८, २०८० सोमबार 180

पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च भएको बताएका छन्।

सोमबार धनगढीमा भएको उनको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै पूर्वराजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए।

उनले भने- नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।

उनले के नयाँ नेपाल भनेको यही हो? भनी प्रश्न पनि गरेका छन्।

‘के अग्रगामी भनेको परालम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?’ शाहले भने,‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ।’

शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका हुन्। लखनऊ जानुअघि उनको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो।

उत्तर प्रदेशमा हुँदा पूर्वराजा शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।

प्रतिकृया दिनुहोस्