५ जेठ, काठमाण्डौ । भौतिक पूर्वाधार, शिक्षा , स्वास्थ्य तथा सरसफाई लगायत हरेक क्षेत्रमा रहेका विद्यमान कानुन र नियमहरुलाई अक्षरंश पालना गराउन लागि पर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अब स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यान्वयनमा उत्रिएका छन् ।
काठमाडौं महानगरपालिकाले विपन्न असाहाय तथा वेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाहीको चेतावनी दिएको छ । महानगरले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को परिच्छेद २४ अनुसार १० प्रतिशत शैया नछुट्याउने र निःशुल्क उपचार नगराउने अस्पताललाई यस्तो चेतावनी दिएको हो ।
लक्षित नागरिकको निःशुल्क उपचार, बिरामीमैत्री सेवा, कर्मचारीहरूलाई नियमबमोजिम न्यूनत्तम पारिश्रमिक, फोहोरमैला व्यवस्थापन तथा क्यान्टिनको खाद्य गुणस्तर पनि मापदण्ड अनुसार गर्न महानगरले आग्रह गरेको छ । अनावश्यक प्रयोगशाला परीक्षण सिफारिस नगर्न र लक्षित वर्गले निःशुल्क सेवा पाएको विवरण सार्वजनिक गर्न पनि महानगरले निर्देशन दिएको छ ।
मापदण्ड र नियमबमोजिम नगर्ने अस्पताललाई स्थानीय सरकार संचालन ऐन २०७४ दफा ११ अनुसार कारबाही गरिने महानगरले जनाएको छ । यसअघि महानगरले विद्यार्थीहरुलाई छात्रबृति दिने सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सामुदायिक तथा निजी सबै विद्यालयहरुलाई निर्देशन दिएको थियो ।
प्रतिकृया दिनुहोस्