नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्।
उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्।
जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्।
शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।
केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त भने उद्योगपति हुन्। इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्।
शिवाना केदारभक्तका छोरा सञ्जिवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्।
जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। शिवाना सौन्दर्य सामग्री (ब्युटी-प्रडक्ट) को व्यापारमा छिन्।
उनीहरूको चिनजान विद्यालयमै हुँदा भएको हुनसक्ने बताइएको छ। यद्यपि यसबारे आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।
देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।
‘अहिले औंठी साटासाट गरिएको हो। सानो समारोहमा इन्गेजमेन्ट गरिएको हो। बिहे माघमा गर्ने कुरा छ,’ स्रोतले भन्यो, ‘इन्गेजमेन्ट समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए।’
प्रतिकृया दिनुहोस्