काठमाडौँ- आज (बिहीबार) देशभरका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसो त अहिले पनि काठमाडौं उपत्यकाको कतै कतै वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘अहिले काठमाडौं उपत्यकाका कतै कतै र वरिपरि छिटपुट वर्षा भइरहेको छ’, उनले भनिन्, ‘दिउँसोचाहिँ हिजोजस्तै अलि धेरै बेर वर्षा हुने सम्भावना छ।’
उनका अनुसार आज काठमाडौं उपत्यकामा दिनभर नै बदली हुने सम्भावना छ भने घाम देखिने सम्भावना कमै छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
‘खासगरी वर्षाको सम्भावना पहाडी भूभागमा भए पनि कोशी प्रदेशको तराई र मधेश प्रदेशको पूर्वी भागमा पनि वर्षाको सम्भावना छ’, उनले भनिन्।
यस्तै राति पनि कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।
रातिका लागि बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
प्रतिकृया दिनुहोस्