आइतबार , जेठ १४, २०८०

प्रहरीले पक्राउ गर्दा रक्सीको तालमा थिए टोपबहादुर

जेठ १, २०८० सोमबार 210

काठमाडौँ- नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पुर्जी जारी भएको ११ दिनपछि काठमाडौँबाटै पक्राउ गर्‍यो। नेपाल प्रहरीको विशेष ब्यूरोले ११ दिनदेखि फरार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई आइतबार बेलुका पक्राउ गरेको हो। उनी बुढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा लुकेर बसेका थिए।

प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सीको नसामा झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए।

विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो।

परीक्षणपछि पनि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिए।। तर प्रहरीले भने उनी रक्सी धेरै नै पीएको र धेरै नै झुम्म भएको अवस्थामा रहेको बताएको छ।

यसअघि फरार रहँदा उनले संसद्‌लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए। स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। उनलाई त्यहाँको हिरासतमा राखिएको छ। शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपिहरुलाई छुट्टा छुट्टै हिरासतमा राखिएको छ।

उनका छोरा सन्दीप पनि यही प्रकरणमा पक्राउ परेर त्यहीँ हिरासतमा छन्। तर बाबु छोरालाई प्रहरीले छुट्टाछुट्टै राखेको छ। उनलाई प्रहरीले वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन्। रायमाझीलाई आज प्रहरीले थप अनुसन्धानका लागि म्याद लिन अदालत लैजाँदैछ।

प्रतिकृया दिनुहोस्