खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’ का संस्थापक मदन राईले आफूमाथि धेरैपटक यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी छन्।
किशोरीको नाम हामीले ‘दिक्तेल- ४’ राखेका छौं।
दिक्तेल- ४ सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ ।
१६ वर्षीया दिक्तेल-४ ले काठमाडौंस्थित आफ्ना संरक्षकको रोहवरमा दिएको जाहेरी बानेश्वर प्रहरी वृत्तले खोटाङ जिल्ला प्रहरी कार्यालय पठाइसकेको छ।
खोटाङ प्रहरी कार्यालयका इन्सपेक्टर वेनुकुमार कार्कीले मदन राईविरूद्ध बालिकाको जाहेरी आइपुगेको पुष्टि गरे।
उनका अनुसार मौखिक र लिखित उजुरीका आधारमा मदनलाई शुक्रबार दिउँसो पक्राउ गरिसकिएको छ। उनीमाथि अनुसन्धान गर्न आइतबार अदालतबाट अनुमति लिइने छ।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।
यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो। -शोभा शर्ना/सेतोपाटी
प्रतिकृया दिनुहोस्