आइतबार , जेठ १४, २०८०

अन्ततः निको भए नेयमार, बाँकि खेलमा तहल्का मच्चाउने घोषणा !

मंग्सिर १८, २०७९ आइतबार 246

काठमाडौँ – कतार विश्वकप २०२२ को मुख्य दाबेदारको रुपमा रहेको ब्राजिललाई ठूलो राहत मिलेको छ। निरन्तर खेलाडीहरु घाइते भइरहेको अवस्थामा महत्वपूर्ण खेलाडी प्रशिक्षणमा फिर्ता भएसँगै ब्राजिललाई ठूलो राहत मिलेको हो।

विश्वकपको सुरुवातमै घाइते भएका स्टार नेयमार शनिबार देखि प्रशिक्षणमा फिर्ता भएका छन्। नेयमार आफैंले सामाजिक संजाल मार्फत आफू प्रशिक्षणममा फिर्ता भएको जानकारी गराएका हुन्।

नेयमारले सामाजिक संजाल मार्फत कोरिया विरुद्धको खेलमा आफू फिर्ता हुने संकेत समेत गरेका छन्। नेयमारका अनुसार अहिले उनी धेरै राम्रो अनुभव गरिरहेका छन्। सामाजिक संजालमा उनले लेखेका छन्,”मलाई राम्रो लागिरहेको छ, मलाई थाहा थियो कि म अब खेल्न सक्छु।”

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भयो । नकआउट चरणमा पुगिसकेको टोलीले चोटको समस्याबाट टाढा रहन मुख्य खेलाडीलाई विश्राम दिने निर्णय गर्यो ।यसैपनि तीन खेलाडी घाइते भएको ब्राजिलको अन्तिम खेलमा थप दुई खेलाडी चोट बोक्न पुगे ।

ब्राजिलका टिम डाक्टर रोड्रीगो लास्मारका अनुसार टोलीमा चोटका कारण विश्राममा रहेका तीन खेलाडीको स्थिति सुधारिएको छ । तर क्यामरुनविरुद्ध खेलमा थप दुई खेलाडी चोट बोक्न पुगेका छन् । यसअघि चोटका कारण बाहिर रहेका तीनमध्य नेयमार र एलेक्स सान्ड्रोले शनिबार प्रशिक्षण गर्नेछन् ।

‘घाइते खेलाडीमध्य म ड्यानिलोको बारेमा भन्छु । उनले आज पूर्ण रुपमा बलसँग प्रशिक्षण गरे । उनको सुधार सोचेजस्तो भइरहेको छ । भोलीबाट टोलीसँग नियमित प्रशिक्षणमा जोडिनेछन् । आशा गरे अनुसार भयो भने उनी अर्को खेलका लागि उपलब्ध हुनेछन्,’ लास्मारले भने ।

‘नेयमार र एलेक्स सान्ड्रोबारे भने अझै केहि भन्ने अवस्था छैन । अर्को खेलका लागि हामीसँग ७२ घण्टा बाँकी छ । हामी त्यो समय उपयोग गर्न चाहन्छौं । दुवै फर्कने सम्भावना पनि छ । अब हाम्रो प्रयासमा कस्तो नतिजा आउँछ हेर्न बाँकी छ ।’

‘नेयमार र एलेक्सले कस्तो सुधार गर्छन् हेर्न बाँकी छ । भोलिदेखि बलसँग प्रशिक्षण गर्नेछन् । त्यसमा उनीहरुले कस्तो महसुस गर्छन्, त्यसै अनुसार अघि बढ्नेछौं ।’

‘क्यामरुनविरुद्ध दुई स्वास्थ्य समस्या देखिएका छन् । एलेक्स टेलेस दायाँ घुँडामा चोट बोकेपछि आएका थिए । हामीले भोलि उनको एमआरआई गर्नेछौं । जेससको पनि दायाँ घुँडामै समस्या देखिएको छ । उनको पनि एमआरआई गरेपछि मात्र थप भन्न सकिन्छ ।’

प्रतिकृया दिनुहोस्