बुधबार , जेठ १७, २०८०

आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरू माथि गरेको यौन दुर्व्यवहार (भिडियो सहित)

बैसाख २८, २०८० बिहिबार 397

कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।

फाउन्डेसनका संस्थापक समेत रहेका मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।

हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमान्डौंमा भेटेर।

शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।

मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।

हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।

मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।

यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।

हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।

खोटाङ जिल्लाको सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनले खोलेको ‘जन-जागृति माध्यमिक विद्यालय। तस्बिर सौजन्यः मदन राई माखोटाङको शुभद्रा मदन फाउन्डेसनले खोलेको जन-जागृति माध्यमिक विद्यालयको फाइल तस्बिर। तस्बिर सौजन्यः मदन राई
दिक्तेल १

म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।

शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।

म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।

हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।

तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।

एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।

बाजेले ‘तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!’ भन्नुभयो।

आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई ‘तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ’ भन्नुभयो।

त्यति मात्र होइन, उहाँले ‘अब तिमीहरू म सँगै सुत्नुपर्छ’ पनि भन्नुभयो।

त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।

‘ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ’ भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।

आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।

यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!

दिक्तेल २

म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।

आएको केही समयमै साथीहरूले मलाई ‘बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ’ भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।

म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।

बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।

म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्‍याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।

‘तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन’ भनिरहनुहुन्थ्यो। म भाग्थेँ।

तर तीन महिनाअगाडि उहाँले हामीलाई ‘सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु’ भन्नुभएपछि भने झन् डर लागेको छ।

उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।

‘उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु’ भन्नुभयो।

हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।

दिक्तेल ३

म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।

केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।

एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र ‘तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्’ भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्‍याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।

दिक्तेल ४

घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई ‘काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ’ भन्नुभयो।

अंकलले मलाई पनि ‘ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ’ भनेर सम्झाउनुभएको थियो।

पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।

दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।

चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।

हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।

एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।

एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।

अनि बाजेले भन्नुभयो, ‘तेरो…बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?’

त्यसपछि हामी दुवै दौडेर तल झर्‍यौं।

हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्‍याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।

पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले ‘ऐय्या कस्ती रहिछे’ भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्‍यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।

ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।

त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।

मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।

गएको बेला बाजे त्यहीँ हुँदा ‘म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ’ भन्नुहुन्थ्यो।

उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।

ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले ‘गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध’ भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।

बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले ‘ओइ, यता हेर् त’ भन्दै बोलाउनुभयो।

म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले ‘तँलाई देखेर मेरो…भयो’ भन्नुभयो।

धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।

अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।

सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्‍यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।

पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले ‘तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर’ भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।

शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।

चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।

एक दिन दिउँसो पेशल मेन्टरले ‘आज स्टोरमा आइज’ भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।

पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।

म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।

बाजे बेलाबेला ‘जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ’ भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।

दिक्तेल-५

आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।

कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।

पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।

कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।

मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।

जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। ‘क्या यस्तो कुरामा पनि लजाउँछौ’ भन्दै गाली गर्नुहुन्थ्यो।

मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।

हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।

यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।

‘यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो’ भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।

सेतोपाटीले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।

दिक्तेल-६

म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।

शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।

मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।

धन्न ‘के गरेको यो?’ भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।

ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।

यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।-शोभा शर्मा/setopati

प्रतिकृया दिनुहोस्