सोमबार , चैत्र १३, २०७९

बच्चा जन्माउने कुरा बारे वर्षा र संजोगले खुलेरै दिए यस्तो जवाफ

मंग्सिर १८, २०७९ आइतबार 326

एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो । फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् ।

परालको आगो झैं वर्षा र संजोगको झगडा साम्य भएसँगै उनीहरु सार्वजनिक कार्यक्रमहरुमा एकसाथ देखिन थालेका छन् । यसै साता अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी, विवाह र रिसेप्सन पार्टीमा उनीहरु साथमै पुगेका थिए । रिसेप्सन पार्टीमा नवविवाहित जोडीलाई बधाई दिन मिडियाको क्यामेरा अगाडि उभिँदा यो जोडीलाई पत्रकारबाट नियमित झैं बच्चाको प्रश्न तेर्सियो ।

तर, दुवैले बच्चाको प्रश्न सुन्न र जवाफ दिन रुचि देखाएनन् । संजोगले अब फेरि यही प्रश्न नगर्न आग्रह नै गरे । तद्यपि, उनले उत्तर नदिइ सुःख पाएनन् । अनि, कुटनीतिक शैलीको जवाफ दिँदै उनले भने, ‘विधिको विधानमा लेखेको हुन्छ रे । जे लेखिएको हुन्छ, त्यही नै हुन्छ ।’ वर्षाले भने बच्चाको प्रश्नमा ‘हेरौं’ भन्दै हाँसेर टारिन् । विवाहदेखि नै यो जोडीलाई बच्चाको प्रश्नले छाडेको छैन ।

संजोगले सलोन र करिश्मालाई वैवाहिक जीवनको शुभकामना दिँदै गर्दा एउटा वाक्य फुत्काए, ‘धेरै कन्ट्रोभर्सी नहोस् ।’ यो कुराले वर्षा रात्तोपिरो भइन् । अनि, पत्रकारले पनि सोधिहाले, ‘तपाईंहरुको पनि बेला बेलामा कन्ट्रोभर्सी आउँछ है ?’ जवाफमा संजोगले ‘यस्तै हो’ भन्दै वाक्य टुंग्याए । वर्षाले भने ‘रिसालु श्रीमती परेपछि कहिले काहिँ यस्तो हुन्छ’ भन्दै झगडाको दोष आफूलाई दिइन् । लामो समय प्रेम सम्बन्धमा रहेर वर्षा र संजोगले २०७५ साल फागुन २ गते विवाह गरेका थिए ।

प्रतिकृया दिनुहोस्