आइतबार , जेठ २१, २०८०

एसिया कप श्रीलंकामा भए पाकिस्तानले नखेल्ने !

बैसाख २६, २०८० मंगलबार 208

आउँदो सेम्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कप अब श्रीलंकामा हुने सम्भावना बढेको छ । भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण एसिया कप-२०२३ हुने/नहुने अन्योलमा भइरहेका बेला फेरि नयाँ ‘ट्वीस्ट’ आएको छ ।

भारतले श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पनि आफ्नो पक्षमा पारिसकेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले पाकिस्तानमा एसिया कप नखेल्ने कुरा आइरहेको छ । तर, यो आधिकारिक भने होइन । भारतीय सञ्चारमाध्यमले यी तीनै देशले पनि पाकिस्तानमा एसिया कप नखेल्ने जनाएको उल्लेख गरेको छ ।

द इन्डियन एक्सप्रेसले लेखेको छ, ‘एसिया कपको स्थान यही महिनाको अन्त्यसम्म एसियन क्रिकेट काउन्सिल (एसीसी) ले लगाउनेछ । पाकिस्तानमा नहुने पक्काजस्तै छ । यस्तो बेला श्रीलंकाको दमबुल्ला र पल्लेकेलेमा एसिया कप हुन सक्छ ।’

अहिलेसम्मको आयोजक राष्ट्र भनेको पाकिस्तान नै हो । पाकिस्तानले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको छ । तर, भारत भने कुनै पनि हालतमा पाकिस्तानमा एसिया कप २०२३ भएको हेर्न चाहँदैन । भारतले आफ्नो टिम पाकिस्तानी भूमिमा नपठाउने भनेर घोषणा गरिसकेको छ । यसपछिको कारण अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ मा हुने चुनाव जित्न राष्ट्रवादको नारा ल्याएको भन्ने विश्लेषण पनि हुन थालेको छ ।

यता, पाकिस्तान क्रिकेट बोर्डले भने भारतले आफ्नो देशमा एसिया कप नखेल्ने भएपछि ‘हाइब्रिड मोडल’ मा एसिया कप गराउने प्रस्ताव पनि राखेको थियो । तर, यो प्रस्तावलाई भारतले फेरि अस्वीकार गर्दै आएको छ । पाकिस्तानले भारतको खेल अन्य कुनै देशमा गराउने तर अरु राष्ट्रको खेलचाहिँ आफ्नै देशमा हुने गरी हाइब्रिड मोडलमा योजना अघि सारेको थियो ।

एसिया कप २०२३ को आयोजना नै अन्य कुनै देशलाई जिम्मा दिने एसीसीको तयारी भइरहेको पनि इन्डियन मिडियाले लेख्न थालिसकेका छन् । यदि एसिया कप २०२३ को आयोजना पाकिस्तानबाट खोसेर एसीसीले अन्य कुनै देशलाई दिए पाकिस्तानले यो एसिया कप खेल्ला त ? प्रश्न उठ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्