पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा बदली रहने छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई-तीन दिन अझै लम्बिनेछ।
‘तीन–चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले सेतोपाटीसँग भने,‘ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।’
मंगलबार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस्