आइतबार , जेठ २१, २०८०

डाक्टरको कोठामा नर्स मृत फेला प्रकरण : प्रारम्भिक अनुसन्धानमा के देखिन्छ ?

बैसाख १८, २०८० सोमबार 416

काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्स मृत फेलापरेको घटनाको प्रहरी अनुसन्धान जारी छ । वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमापिया श्रेष्ठ मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमबाट मृत्युको यकिन तथ्य थाहा हुने परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

“पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमपछि आत्महत्या हो कि के हो थाहा हुन्छ,” उनले भने, “अनुसन्धान जारी छ । कुनै निष्कर्षमा पुगेका छैनौँ ।”

गएको शनिबार अपराह्न करिब ४ बजे काठमाडौं महानगरपालिका–१६, बोहोराटारस्थित एउटा घरको कोठमा झुन्डिएको अवस्थामा श्रेष्ठको शव फेलापरेको थियो । प्रहरीका अनुसार विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक सुजन ढकालको कोठामा श्रेष्ठ मृत फेलापरेकी हुन् ।

प्रहरीले घटनास्थलमा एउटा ‘सुसाइड नोट’ फेलापारेको थियो । त्यस विषयमा पनि अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

प्रहरी स्रोतका अनुसार उक्त सुसाइड नोटमा ‘बाँच्न मन लागेन’ भन्ने आशय उल्लेख छ । “अरू खास त्यस्तो केही छैन,” प्रहरी स्रोतले भन्यो ।

श्रेष्ठ र डा. ढकाल करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको सूचना आफूहरूले प्राप्त गरेको एक प्रहरी अधिकारी बताउँछन् । दुईबीच डा. ढकालले बिहे गर्न नमानेको भन्ने सूचना पनि प्राप्त गरेको ती अधिकारीको भनाइ छ ।

तर, यी विषय स्पष्ट भइनसकेको एसपी रिजालले बताए । उनले भने, “अनुसन्धान हुँदै छ । धेरै कुरा पुष्टि हुन बाँकी छ ।”

प्रहरी वृत्त बालाजुले घटनाको अनुसन्धान गरिरहेको छ । श्रेष्ठका आफन्तले डा. ढकालविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको उनले बताए ।-

प्रतिकृया दिनुहोस्