बुधबार , जेठ १७, २०८०

यस्तो छ निराको हत्यामा संलग्न अभियुक्तको ‘ब्याकग्राउण्ड’

बैसाख १७, २०८० आइतबार 1156

काठमाडौं । चाबहिलको सरस्वतीनगरस्थित भाडा पसल सञ्चालिक नीरा पाण्डेको हत्यामा संलग्न अभियुक्त विनोद विश्वकर्माको ‘ब्याकग्राउण्ड’बारे प्रहरीले छोटकारीमा जानकारी गराएको छ ।

गत बैशाख ७ गते नीराको दिउँसै रहस्यमय तरिकाले हत्यामा संलग्न आरोपी विश्वकर्मा बाउन्सरका रुपमा कार्यरत रहेका थिए । भाइब्रेन्ट क्लबमा बाउन्सर रुपमा रहेका उनी त्यसअघि पनि झापाको बेबीलोन नामक स्कुलमा बाउन्सरका रुपमा कार्यरत रहेको आयोजित पत्रकार सम्मेलनमा सीआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

वैशाख ७ गते भक्तपुरको लोकन्थली १ मा साथीको कोठामा आएर बसेको प्रहरी अनुसन्धानमा देखिएको छ । साथै, उनी त्यहाँ करिब एक हप्ताअघि साथीको कोठामा आएर बसेका थिए । वैशाख ७ गते भक्तपुरबाट अन्दाजी १०/११ बजेतिर बस चढेर चाबहिलको केएल टावर आइपुगेका र घुम्दै जाँदा अन्दाजी २ बजेतिर सरस्वतीनगरस्थित निरु पाण्डे किचनमा पुगेर केही समय भाडा किनेको जस्तो बहानामा बसेको देखिन्छ ।

त्यसपछि अन्दाजी २ बजेर ३४ मिनेट जाँदा त्यस पसलबाट एटीएमबाट पैसा निकाल्ने निहुँमा आफ्ना जिन्सी सामानहरु त्यहिँ राखेर गएको देखिन्छ । र, पुनः २ बजेर ४४ मिनेट जाँदा फेरि आरोपी पसलमा प्रवेश गर्छ र विभिन्न भाँडा देखाउने बहानामा पछाडिबाट आक्रमण गरेर हत्या गर्छ । आरोपीले पसलमै भएका छुरीहरु निरुमाथि प्रहार भएको अनुसन्धानमा देखिएको छ ।

हत्यापश्चात् निरुले लगाएको सुनको सिक्री र पैसा लिएर बाहिर निस्केको देखिन्छ । हत्यापछि त्यहाँबाट टेम्पो चढेर ओम हस्पिटलस्थित मनोहरा पुलनजिक पुग्छ । त्यसपछि त्यहाँबाट बाइकमार्फत जडिबुटी पुग्छ र पुनः बाइकमार्फत आरोपी कोठा पुगेको देखिन्छ ।

घटनामा लगाएको सर्ट, झोला, जुत्ता पनि प्रहरीले बरामद गरेको छ । साथै, हत्यापछि लुटेर लगेको सुनको सिक्री तारकेश्वर पाथीभरा सुनचाँदी पसलमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ । उक्त सुन प्रहरीले बरामद गरिसकेको छ ।

वैशाख १३ गते सुन बिक्री गरेपछि झापातर्फ गएको प्रहरी अनुसन्धानमा देखिएको छ । आरोपीले लुटपाट गर्ने उद्धेश्ले निराको हत्या गरेको आयोजित पत्रकार सम्मेलनमा सीआइबीका एसएसपी आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्