काठमाडौं । प्रहरीले निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका युवकलाई अहिले सार्वजनिक गर्दैछ । काठमाडौं कपनकी पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विकलाई प्रहरीले आज दिउँसो साढे २ बजे सार्वजनिक गर्न लागेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले पाण्डेको हत्या आरोपमा पक्राउ परेका युवकलाई केहीबेरपछि सार्वजनिक गर्ने तयारी भइरहेको जनता समाचारलाई जानकारी दिनुभएको छ । अनुसन्धान ब्युरोका प्रवक्ता थापाका अनुसार विकलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिनेछ ।
कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक पाण्डेको वैशाख ७ गते आफ्नै पसलमा हत्या भएको थियो । हत्या आरोपमा पक्राउ परेका विकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र झोला समेत बरामद गरेको छ । कागेश्वरी– मनोहरास्थित एक रेष्टुरेन्टमा विकको सर्ट र झोला फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार त्यो रेष्टुरेन्टमा विक प्रायः जाने गरेको खुलेको छ ।
प्रहरीले पाण्डे हत्या प्रकरण अनुसन्धान गर्दा सीसीटिभीमा एक युवकलाई देखेको थियो । सीसीटिभीमा देखिएको दृश्य अनुसन्धान गर्दै जाँदा हत्यामा विकको संलग्नता पाइएको हो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार घटनापछि विक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित रेष्टुरेन्टमा गएको खुलेको छ ।
पक्राउ परेका विक घटनापछि रेष्टुरेन्टको कोठामा गएर भोलिपल्ट झापा पुगेको पाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्