आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।
आगामी वैशाख १० गते बारा-२ , तनहुँ-१ र चितवन-२ मा उपनिर्वाचन हुँदैछ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’
गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल, चितवन- २ बाट रास्वपा सभापति रवि लामिछाने र बारा- २ बाट तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
पौडेल गत फागुन २५ मा राष्ट्रपति र यादव चैत ३ मा उपराष्ट्रपति बनेका थिए भने लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले उनको पद बदर गरिएको थियो।वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ।
ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक
ओखलढुङ्गा, ३ वैशाख (रासस) :
ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरूले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् ।
यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक जिल्ला आइपुगेकाले भर्नासँगै पुस्तक वितरण गरिने शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनुभयो । जिल्लाका सबै आठवटै पालिकामा पाठ्यपुस्तक पुगिसकेको र विद्यालयमार्फत विद्यार्थीलाई वितरण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । “विगतका वर्षहरूमा शैक्षिक उपलब्धि मूल्याङ्कन गर्दा पनि पाठ्यपुस्तक समयमा नपाउँदा कमजोर नतिजा आएको भन्ने निष्कर्ष आउँथ्यो । तर यो वर्ष भर्ना गर्न विद्यालय आएका विद्यार्थीले नयाँ कक्षाको पुस्तक लिएर जानेछन्, त्यो तयारी भइसकेको छ ।”
प्रमुख गजुरेलका अनुसार सबै पालिकामार्फत विद्यालयमा पुस्तक पठाइसकिएको छ । पाठ्यपुस्तक नआएको वा अपुग भए जानकारी गराउन उहाँले अपिल गर्नुभएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नआउँदा पठनपाठनमा समस्या हुने गरेको थियो । यस वर्ष समयमै पुस्तक पाउने भएपछि विद्यार्थी खुसी भएको कटुञ्जे माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा यसले टेवा पुग्ने उहाँको भनाइ छ ।
जिल्लाका आठवटै पालिकामा रहेका सबै विद्यालयमा वैशाख ५ गते अगाडि नै पुस्तक पु¥याउने र विद्यार्थीलाई वैशाख ५ मा नै वितरण गर्ने तयारी भइरहेको छ । विगतका वर्षहरूमा पुस्तक समयमा नपाउँदा आधा शैक्षिक सत्रसम्म पढाइ सुरु नहुने र अन्ततः कोर्ष नसकिने समस्या थियो । यसका कारण विद्यार्थीमा धेरै समस्या पनि उत्पन्न भएको थियो । यस वर्ष शैक्षिक वर्ष सुरु भएसँगै पुस्तकहरू उपलब्ध हुन थालेपछि यसले विद्यार्थी र उनीहरुका अभिभावकहरू पनि खुसी भएका छन् । उनीहरूले पुस्तकका लागि विगतका वर्षहरूजस्तो समस्या झेल्न यस वर्ष नपर्ने जनाएका छन् ।
प्रतिकृया दिनुहोस्