काठमाडौं, चैत १९। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ ।
हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि
सिन्धुपाल्चोक, १९ चैत (रासस) ः
सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गर्नुभयो ।
गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
न्यूनतम रु एक हजारदेखि बढीमा २० हजारसम्मको मासिक औषधि सेवन गर्ने बिरामी गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्