काठमाडौँ —
बजारमा अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने केही सातादेखि निरन्तर घटेको छ । भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको व्यवसायी बताँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।
‘कुखुराको उत्पादन बढेर मूल्य घटेको होइन,’ संघका सचिव देवकुमार गिरीले भने, ‘मूल्य घट्नुको एक मात्रै कारण भारतबाट सस्तोमा आयात भएर हो ।’ असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ तोकियो । मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।
गिरीका अनुसार खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा ब्रोइलर कुखुरा भित्रिन्छ । तुलनात्मक रुपमा भारतीय कुखुरा धेरै सस्तो पर्छ । सस्तो कुखुरा बजारमा भित्रिएपछि बाध्य भएर मूल्य घटाएको उनको दाबी छ । ‘आर्थिक मन्दीले सर्वसाधारणको क्रयशक्ति घटेको देखिन्छ, जसले गर्दा खपत पनि कमै भएको छ,’ उनले भने, ‘सस्तो कुखुरा तस्करी भएर आएपछि प्रतिस्पर्धा गर्न मूल्य घटाउन बाध्य भयाैं ।’ संघले कोल्डस्टोर मूल्य २ सय २० तोकेपछि खुद्रा बजारमा प्रतिकिलो ३ सय रुपैयाँ भन्दा बढी नपर्ने गिरीको दाबी छ ।
प्रतिकृया दिनुहोस्