काठमाडौं । कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप सुरु भएको बताएका छन् । पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चरण पुग्ने समीकरण कठिन बनेको थियो ।
तर, दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डलाई समान २–० को नतिजामा हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को अन्तिम–१६मा स्थान पक्का गरेको छ । “पेनाल्टीमा चुक्दा रिस उठेको छ । तर मेरो त्यो गल्तीपछि टोली अझ बलियो भयो । हामीलाई थाहा थियो कि एक गोल भएपछि खेल परिवर्तन हुनेछ,’’
मेसीले खेलपछि भने, “अघिल्लो खेलको नतिजाले हामीलाई धेरै मानसिक शान्ति दियो । हामी जित्नुपर्छ भन्ने सोचेर मैदानमा निस्कियौँ ।’’अर्जेन्टिनाले ३९औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, मेसीको प्रहारलाई पोल्यान्डका गोलपिकर वोइच चेजनीले बचाइदिएका थिए ।
जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रो पटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउ गर्ने चेजनी दोस्रो गोलकिपर बनेका छन् । यस अघि १९६६ मा फ्रान्सका जोल बोटले यस्तो सफलता हासिल गरेका थिए ।
पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, बाँकी दुई खेलमा विजय हासिल गरेपछि मेसीको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ । अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अष्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
आजै भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० ले हराएको थियो । फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको थियो । “अष्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ । जो कोहीले कसैलाई पनि हराउन सक्छ । विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ,’’
मेसीले थपे, “हामी शान्त भएर खेल्नुपर्छ । यससँगै अब अर्को विश्वकप सुरु भएको छ । आशा छ हामीले आज जे गर्यौं त्यसलाई निरन्तरता दिन सक्नेछौं ।’’
प्रतिकृया दिनुहोस्