बिहिबार , जेठ २५, २०८०

मेस्सी पेनाल्टीमा चुक्दा युवा खेलाडी बने हिरो, समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा

मंग्सिर १५, २०७९ बिहिबार 360

काठमाडौँ- कप्तान लियोनल मेस्सीले पेनाल्टी मिस गरे पनि युवा खेलाडी चम्किएपछि अर्जेन्टिनाले निर्णायक खेलमा मिठो जित निकाल्दै कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार बिहीबार बिहान भएको समूह चरणको तेस्रो खेलमा अर्जेन्टिनाले रोवर्ट लेवानडोस्कीको टिम पोल्यान्डमाथि २–० को एकपक्षीय जित निकाल्दै अघिल्लो चरणमा स्थान पक्का गर्न सफल भयो । निकै तनावपूर्ण र दबाबपूर्ण खेलमा अर्जेन्टिनाका लागि कप्तान मेस्सीले भने खराब रेकर्ड नै बन्ने गरी पेनाल्टी मिस गरे ।

स्टाडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डमाथि सुरुआतबाट अन्त्यसम्म नै एकतर्फी दबाब बनाएर खेलेको थियो । पहिलो यसअघिको खेलमा मेक्सिकोविरुद्ध २–० को जित निकाले पनि फितलो प्रदर्शनका कारण आलोचित बनेको अर्जेन्टिनाले आज निकै सुधारिएको प्रदर्शन गर्दा पोल्यान्ड भने स्तब्ध बन्यो ।

पोल्यान्डलाई समूह विजेता बन्न अर्जेन्टिनासँग बराबरी नतिजा नै काफी हुने भए पनि उसले हार पन्छाउन सकेन । आजको खेलमा पोल्यान्डका गोलकिपर सिजेस्नीले शानदार प्रदर्शन गर्दा डिफेन्डरको कमजोरीमा गोल खाएपछि अर्जेन्टिनाको चुटाइ खानबाट पोल्यान्ड बच्न सकेन ।

खेलको ३७औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी मेस्सी आफैंले प्रहार गर्दा पोल्यान्डका गोलकिपरले लडेको अवस्थामा पनि एकै हातले शानदार ढंगले बचाएर अर्जेन्टिनालाई निराश पारेका थिए । बक्सभित्र आकासे बल क्लियर गर्ने क्रममा मेस्सीमाथि पोल्यान्डका गोलकिपरको हातले हलुका लागेको भए पनि रेफ्रीले भिएआरमार्फत् अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

तर, महत्त्वपूर्ण समयमा पाएको पेनाल्टीमा मेस्सी नमिठो गरी चुके । सामान्य फउलमा रेफ्रीले पेनाल्टी दिएको भन्दै गोल हुन नसकेको सो पेनाल्टी दिने निर्णय अहिले विवादित बनेको छ ।पहिलो हाफमा पोल्यान्डको पोस्टमा ११ सट हानेर ७ वटा अन टार्गेट प्रहार गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि सुरुआतबाटै आक्रामक खेल खेल्दा पहिलो मिनेटमै गोल निकाल्न सफल भयो ।

मोलिनाको पासमा युवा मिडफिल्डर एलेक्सिस म्याक अलिस्टारले गोलको खडेरी तोड्दै अर्जेन्टिनालाई जितको बाटो देखाएका थिए । सो गोल गरेपछि अर्जेन्टिनाले खेलमा थप दबाब बढायो भने पोल्यान्ड गोल खाएपछि झनै दबाबमा पर्न गएको थियो । पहिलो गोल खाँदासम्म पनि पोल्यान्डलाई भने अर्जेन्टिनाका प्रहार रोक्न भ्याईनभ्याई भइरहेको थियो ।

पोल्यान्डको हातबाट खेल त्यत्तिबेला फुत्कियो, जतिबेला अर्जेन्टिनाले दोस्रो गोल हान्यो । खेलको ६७औं मिनेटमा युवा खेलाडी जुलियन अल्भारेजले बक्स अघिबाट शानदार सटमा गोल गरेर अग्रता दोब्बर पारे । उनले पोल्यान्डका ३ जना खेलाडीका बीचबाट माथिल्लो बार च्यापेर हानेको प्रहारले सोझै जाली चुमेको थियो ।

पहिलो हाफमा मेस्सीको पेनाल्टी रोकेका सिजेस्नीले दोस्रो हाफमा अर्जेन्टिनाका धारलाई रोक्न नसक्दा उनले चाँडै २ गोल खाएका थिए । अल्भारेजले गरेको दोस्रो गोलमा डिफेन्डर फर्नान्डेजले असिस्ट प्रदान गरेका थिए । अन्ततः अर्जेन्टिनाले त्यही गोलको अग्रता बचाएर खेल २–० ले जित्यो ।

प्रतिकृया दिनुहोस्