बुधबार , जेठ १७, २०८०

आजको सबैभन्दा रोचक खेल , गर कि मरको अबस्थामा भिड्दैछन् यी टिम पनि

मंग्सिर १४, २०७९ बुधबार 339

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा आज समूह ‘सी’बाट समूह चरणका दुई निर्णायक खेल हुँदैछन् । यी खेलपछि अन्तिम १६ प्रवेश गर्ने दुई टिम र आउट हुने दुई टिमको टुंगो लाग्नेछ । आज हुने विभिन्न ४ खेल मध्ये सबैभन्दा आकर्षक र विश्वको नजर रहने खेल भने अर्जेन्टिना र पोल्यान्डको हुनेछ ।

रोवर्ट लेवानडोस्कीको पोल्यान्ड र लियोनल मेस्सीको अर्जेन्टिना आज अन्तिम १६ प्रवेशका लागि ‘गर कि’ मरेको अवस्थामा छन् । आज यो खेल हुँदा पोल्यान्डलाई नहारी बराबरी मात्रै खेले पनि काफी हुन्छ तर अर्जेन्टिनाका लागि कुनै पनि हालतमा जित नै चाहिन्छ ।

अन्तिम खेल बाँकी छँदा समूह ‘सी’मा सबैका लागि अन्तिम १६ खुला छ । अहिले अंक तालिकामा पोल्यान्ड ४ अंकका साथ पहिलो स्थानमा छ भने अर्जेन्टिना र साउदी समान ३–३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १ अंक भएको मेक्सिको चौथो स्थानमा छ ।

पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ ले पराजित हुँदा पोल्यान्ड र मेक्सिकोले ०–० को बराबरी खेले । दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराउँदा अर्को खेलमा पोल्यान्डले साउदीलाई पनि २–० ले नै हरायो । पहिलो खेलमा साउदीसँग लज्जास्पद हार भोगेको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई जितेपछि उसले अन्तिम १६ को ढोका खोलेको थियो ।

आज यस समूहका २ खेल हुँदा यदि कुनै टिम सबैभन्दा दबाब र तनावमा हुनेछ भने त्यो मेस्सीको टिम अर्जेन्टिना नै हो । प्रतियोगिताको एक प्रमुख उपाधि दाबेदार यसअघि मेक्सिकोसँग हारेको भए सोही रात विश्वकपबाट आउट हुने थियो । मेक्सिकोलाई जितेपछि ऊ खेलमा जीवित रहेको थियो ।

अन्तिम १६ प्रवेशका लागि आज निर्णायक खेलमा पोल्यान्ड र अर्जेन्टिना तथा साउदी र मेक्सिको अर्को खेलमा एकै समयमा भिड्नेछन् । यी दुई खेलको नतिजापछि अन्तिम १६ जाने दुई टिमको छिनोफानो हुनेछ । सुपरस्टार खेलाडी भएकाले अर्जेन्टिना र पोल्यान्ड बीचको खेलमाथि आज विश्वको ध्यान हुनेछ । मेस्सीको टिम समस्यामा भएकाले पनि यो खेलमा नजर रहनेछ ।

लेवानडोस्कीको टिम पोल्यान्डको आज एकबुँदे लक्ष्य हुनेछ– अर्जेन्टिनासँग नहारी खेल सिध्याउने । ०–० को बराबरी वा ५–५ को बराबरी भए पनि पोल्यान्डलाई अन्तिम १६ मा जान काफी हुन्छ । अहिले अर्जेन्टिनाभन्दा पोल्यान्ड १ अंकले अघि नै छ । उता, साउदी र मेक्सिको बीचको खेल हुँदा साउदीलाई सजिलो छ ।

३ अंक भएको उसले मेक्सिकोलाई हरायो भने अन्तिम १६ जान काफी हुन्छ । वा, ऊ समूह विजेता पनि बन्न सक्छ । अंकगणित यस्तो छ कि, दुई खेलको नतिजा अनुसार पोल्यान्ड, अर्जेन्टिना र साउदी जो पनि समूह ‘सी’को विजेता बन्न सक्छन् ।त्यसका लागि दुई खेलको नतिजा हेर्नुपर्छ ।

अब समूह ‘सी’को अवस्थाबारे सिधा कुरा गरौं । यदि लेवानडोस्कीको टिम पोल्यान्ड आफ्नै नतिजाको बलमा अघि बढ्न चाहन्छ भने उसले अर्जेन्टिनाविरुद्ध जित निकाल्नुपर्छ वा नहारी बराबरी गरे पुग्छ । तर, यदि दोस्रो खेलमा साउदीले मेक्सिकोलाई जित्छ भन्ने कुरा विश्वास गर्ने हो भने अर्जेन्टिनाले पोल्यान्डलाई हराए मात्रै अन्तिम १६मा जानेछ ।

नत्र आउट हुनेछ । साउदी र मेक्सिको बीचको खेलको नतिजा जेसुकै होस् भनेर आफ्नो नतिजाको बलमा अघि बढ्ने हो भने अर्जेन्टिनाले पोल्यान्डमाथि स्पष्ट जित नै निकाल्नुपर्छ । यदि साउदी मेक्सिकोसँग हार्छ अनि आफू बराबरी गरेर भए पनि अघि बढिन्छ भन्ने आशामा बसेका बेला साउदीले जितिदियो भने अर्जेन्टिनाको दुखद् बिदाइ हुनेछ ।

प्रतिकृया दिनुहोस्