बिहिबार , जेठ २५, २०८०

छोरीचेली जताततै असुरक्षित : गाडीमा बसेका युवाले कपाल लछार्दै भने, ‘तीन हजारमा जान्छेस्?’

फागुण १०, २०७९ बुधबार 200

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा ‘नोमिका- २०’ नामक आइडीबाट तीन दिनअघि एउटा भिडिओ पोस्ट भएको छ। तीन मिनेटको उक्त भिडिओमा १८ वर्षीया एक किशोरीले आफूमाथि दुई जना पुरुषले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन्।

न्याय माग्दै ती किशोरीले नेपालमा छोरी/चेली सुरक्षित नभएको पनि उल्लेख गरेकी छन्। ‘दूध लिएर फर्किंदै गर्दा बोलेरो गाडीमा बसेका दुई जना पुरुषले कपाल लछारे। मेरो कपाल पनि चुडिँयो। त्यसपछि मलाई तीन हजारमा जान्छेस् भनेर सोधे’, रुँदै ती किशोरीले भनेकी छन्, ‘साँच्चै नेपालमा छोरी/चेली सुरक्षित छैनन् ।’

उनको भिडिओमा आएका अधिकांश टिप्पणीमा न्यायका लागि लड्न आग्रह गरिएको छ। घटनामा संलग्नलाई कानूनी दायरामा ल्याएर कार्बाही गर्नुपर्ने माग भिडिओमा आएका प्रतिक्रियामा उल्लेख छ।

यसरी भएको थियो घटनाः

फागुन ५ गते शुक्रबार साँझ ६ बजेतिर। ती किशोरी चितवनको भरतपुर महानगरपालिका-८ शरदपुरको सडक किनार हुँदै दूधको ट्यामी लिएर घर फर्किँदै थिइन्।

त्यत्तिकैमा बोलेर गाडीका चालकले किशोरीको कपाल ताने। अन्दाजी ३०-३२ वर्षका चालकले गाडी रोकेर किशोरीलाई कपाल समातेर आफूतिर ताने, कपाल तान्दा ती किशोरीको कपाल केही चुँडियो पनि। किशोरीले यो के गरेको भन्दै सोधिन्। गाडीमा सवार व्यक्ति भने हाँसिरहेका थिए। किशोरीलाई शारीरिक अत्याचार गर्ने चालक नै बोले, ‘तीन हजारमा जान्छेस् ?’

किशोरीले प्रहरीलाई उजुर गरुँ ? भनेर जवाफ फर्काएपछि त्यो गाडी हुँइकियो। आँखाभरि आँशु भएकी किशोरीले गाडीको नम्बर यकिन गर्न सकिनन्। अन्दाजमात्र लगाउन सकिन्, बा २ च १८ नम्बर। भोलिपल्ट बुबालाई लिएर ती युवती जिल्ला प्रहरी कार्यालय चितवनमा पुगिन्। ‘हामीले घटनाबारे प्रहरीमा उजुरी गरेका छौं,’ किशोरीका बुबाले केटिएम दैनिकसँग भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। जसरी भए पनि अपराधीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

‘घर नजिकै रहेको डेरीबाट दूध ल्याउँथ्यौं, कहिले म कहिले घरका अरू सदस्य जान्थे,’ उनले थपे, ‘छोरी पनि गइरन्थिन्, तर त्यो दिन कहिल्यै नसोचेको घटना भयो। त्यो घटनाबाट छोरी तनावमा छिन्। यता, चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले किशोरीले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए।

‘घटनामा प्रयोग भएको गाडी खोजिरहेका छौं, अझै राम्रोसँग गाडी नम्बर यकिन भइसकेको छैन,’ उनले भने, ‘सबैतिरबाट बुझ्नेक्रम जारी छ। स्रोत- के.टि.एम दैनिक

प्रतिकृया दिनुहोस्