काठमाडौं।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्। उनले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालको तर्फबाट ५० विकेट लिने पहिलो बलर बन्दै कीर्तिमान बनाएका हुन्।
लिग २ मा ५० विकेट लिने उनी तेस्रा खेलाडी हुन्। घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै सन्दीप ५० विकेट लिने तेस्रो खेलाडी बनेका हुन्। उनले २३ खेलमा ५० विकेट लिएका छन्। यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्।
विलालले ३५ खेलमा ७६ विकेट लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रावल्कर छन्। सौरभले २५ खेलमा ५८ विकेट लिएका छन्। सन्दीपपछि स्कटल्यान्डका मार्क रोवर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिँदै चौथो र पाँचौं स्थानमा छन्।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो । नेपालले आजको खेलमा टोलीमा कुनैपनि गरेको छैन । अघिल्लो म्याचकै टिमलाई निरन्तरता दिएको छ । नामिबियाले पनि टोलीमा कुनैपरिवर्तन गरेको छैन ।
लिगमा नेपाल २६ खेलबाट १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ। शीर्ष तीनमा पर्न बाँकी नेपालले बाँकी सबै १० खेल जित्नुपर्ने हुन्छ। यस्तै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ। उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ।
लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।
लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।
लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।
आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।
सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिकृया दिनुहोस्