काठमाडौँ ।
परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट नि’धन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो। अनामनगर बस्दै आएकी सुब्बा कार्यालय समय सकेर घर फर्किंदै थिइन्।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठक्करबाट घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
उनलाई अस्पतालले मृ’त घोषित गरेको हो। सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन्। उनी २०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। २०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्।
उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्। ‘उहाँ आज कार्यालय समयभन्दा पछिसम्म कार्यालयमा हुनुहुन्थ्यो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘उहाँ अत्यन्त मिलनसार र मेहनती हुनुहुन्थ्यो। उहाँको नि’धनमा निकै दुःखी छौँ।’
अधिकृत सुब्बा मन्त्रालयकी कुशल कर्मचारीमा पर्थिन्। उनी गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सदस्यका रूपमा न्युयोर्क पनि गएकी थिइन्। राष्ट्रसंघ महाशाखाअघि उनी राहदानी विभागमा कार्यरत थिइन्।
झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।। सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन्। सुब्बाको श’व पो’स्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
‘पाँच वर्षपछि डडेल्धुराबाटै लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु’ : सागर ढकाल {साथ दिन शेयर गरौ}
देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु । शेरबहादुर देउवाले चुनाव जित्नु समाचार होइन, उनलाई कसले कसरी चुनौती दियो भन्नेचाहिँ समाचार हो ।हामीले चुनावअघि एउटा स्थलगत रिपोर्टमा लेखेका थियौं– डडेलधुरामा धेरैजना उम्मेदवार उठ्छन्, अन्तिममा देउवाले जित्छन् । यसपल्ट पनि त्यस्तै भयो । निकटतम प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतान्तरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सातौंपल्ट चुनाव जिते ।
यसपल्ट निकटतम् प्रतिष्पर्धी भने उनकै अपेक्षा विपरीतका उम्मेदवार थिए– गुल्मीका सागर ढकाल ।यसभन्दा अघिल्लोपल्ट प्रधानमन्त्री छँदा उनै शेरबहादुर देउवासँग टिभी शोमा योग्य जनप्रतिनिधि खोई भन्दै ‘बढ्ता बोलेर’ चर्चामा आएका सागर ढकाल कालान्तरमा उनकै विरुद्ध डडेलधुरामा चुनाव लड्न गए ।
चुनाव त देउवासँग लामो सहकार्यमा रहेका कर्णबहादुर मल्लले पनि लडेका थिए । उनी यसकारण पनि चर्चामा थिए– एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम नै गएर आफ्नो दलको समर्थन मल्ललाई रहने घोषणा गरेका थिए ।
तर यो पनि खासै समाचार होइन । समाचार उनै सागर ढकाल हुन्, जसले गुल्मीबाट डडेलधुरा गएर विभिन्न अभियानहरू चलाए । उनले देउवाले ल्याएको २५ हजार ५३४ विरुद्ध सागरले पाएको १३ हजार ४२ मत यो चुनावको उल्लेख्य पक्ष हो । चुनाव अघिसम्म देउवाका खास प्रतिष्पर्धी ठानिएका कर्णबहादुर मल्लले भने ७ हजार ५३५ मात्रै पाए । सुई चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवार सागर ढकालसँग बुधबार बिहान गरिएको लामो टेलिफोन संवादको अंशः
चुनाव परिणामलाई कसरी लिनुभएको छ ?
मैले जुन आँट गर्नुपर्ने हो, गरें । धेरै युवाहरूले यसपल्ट आँट गरेका छन् । काठमाडौंमा तोसिमा, सोविता, चितवनमा रविहरूले पाउँदै गरेको जीत मेरो पनि जीत हो । देउवाबाहेक अरु उम्मेदवार कांग्रेसबाट आएको भए मैले पनि सहजै जित्थें । यत्रो राज्यशक्तिको स्रोत पैसा खर्च गरेर चुनाव लड्ने कांग्रेसमा सायद देउवा मात्रै एक्लो हुनुहोला । गगन थापा, प्रकाशमान सिंहजस्तै आचारसंहिता पालना गरेर लडेको भए, गाउँगाउँमा हेलिकोप्टरबाट आएर खसी नकाटेको भए, अनि सागर गुल्मी गयो भनेर अफबाह नफैलाएको भए मैले जित्थें ।
धाँधली भयो भन्नुभएको ?
दुवै भयो । धाँधली पनि भयो । सत्ताको दुरूपयोग पनि भयो । फेरि यो दुरूपयोग उहाँ शेरबहादुरले मात्रै गर्न सक्ने कुरा रहेछ । कांग्रेसका अरुले यो गर्न पाएजस्तो मलाई लाग्दैन । सुदूरपश्चिममै यस्तो त कहीँ हुँदैन ।
चुनावको परिणाम स्वीकार गर्न तपाईंलाई गाह्रो भएको हो ?
होइन, मैले स्वीकारेको छु । आपत्ति छैन । उहाँलाई बधाइ पनि दिइसकें । मैले एउटामात्रै चुनाव सोचेर बसेको छैन । दश वटा चुनाव सोचेर बसेको छु । म ५० वर्ष सोचेर राजनीतिमा आएको हो । मेरा एजेन्डाहरू हेर्नुभयो भने त्यस्तै छन् ।
तपाईं अर्को पल्ट डडेलधुरामै लड्नुहुन्छ ?
हो, यहीँ लड्छु । यसमा शंका छैन ।
त्यसपल्ट पनि हारियो भने ?
त्यसपल्ट पनि हारियो भने म राजनीति छाडिदिन्छु । किचिरपिचिर गरेर बस्दिनँ । अरुलाई छाडिदिए भैगयो नि ! आफ्नो काम गर्न गए भैहाल्यो नि ! यसैमा लागिरहनुपर्छ भन्ने के छ र ?
राजनीति नै छाड्ने ?
अँ, सक्रिय राजनीति छाड्ने । आफ्नो इन्जिनियरिङ कन्सल्टिङ गर्छु । कामको कमी छैन मलाई । यहाँ आउनुभन्दा अघि पनि चार देशको जिम्मेवारी पाएको थिएँ स्वीजरल्यान्डको संस्थाबाट । मैले ठूलो गफ दिएजस्तो सुनिएला । तर अक्सफोर्डमै हुँदा पनि विभिन्न देशका उपप्रधानमन्त्री, मन्त्रीहरूसँग मैले धेरै काम गरेको छु । नेपालको बजेट १५ खर्ब त हो नि, यहाँ प्रधानमन्त्री नै भए पनि कसैले हामीलाई चिन्दैन । नेपालमा जत्रो चहलपहल भइरहेको छ नि अहिले, यो सबै एउटा कुवाभित्रको हल्ला हो । अरु कुनै देशलाई यहाँको चुनावबारे मतलब पनि छैन । त्यसैले हाम्रो हैसियत बढाऊँ । पैसा र पावरका लागि राजनीति नगरौं ।
डडेलधुराका जनताबारे जुन मनोविज्ञान बनेको छ अन्यत्र । त्यस्तै हो ?
होइन, यहाँ पनि जनता जागिसकेका छन् । तराई र भित्री मधेसबाट राम्रो मत आएको छ । शेरबहादुरले चलखेल गरेको पहाडी बस्तीमा हो । त्यहाँका जनतालाई त यति गलत अफवाह फैलाइयो कि मैले त्यसलाई चिर्न भ्याइनँ । तर परिवर्तनको भोट मैले पाएँ । यहाँ त राणाशासन जस्तो छ । मान्छे नेता आयो भने बोल्न पनि डराउँछन् । नवदुर्गा पालिकाका दलित बस्तीमा त पावरमा भएका नेताले दबाएर राखेका रहेछन् । म जाँदा मसँग खुलस्त भन्नुभयो । नपत्याए तपार्इंहरू सर्वेक्षण गरेर हर्नुहोस् । मौन अवधिमा यहाँ पैसा बाँड्नेहरूको व्यापक भीड भयो । गोजीमा पैसा राखिदिनेदेखि बाइकमा तेल हाल्ने सबै सामान्य यहाँ ।
देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु ।
अब कहिलेसम्म डडेलुधुरा ?
डेढ महिनासम्म यहीँ हुन्छु । यहाँ पानीको लागि तत्काल केही काम गर्नुपर्ने छ । यो सबै गर्न चुनाव जित्नुपर्छ भन्ने केही छैन । जलाधार क्षेत्रको व्यवस्थापन लगायत काम गर्नुपर्ने छ । यहाँ बजेटको एकदमै दुरूपयोग र हेलचेक्र्याइँ छ । खोलाले बगाउने ठाउँमा पुल बनाइदिएको छ । भ्रष्टाचारको ठूलो काण्ड यहीँ भेटिन्छ, खोज्दै गयो भने । यो फाइल खोल्ने कसको आँट ? तर मैले गर्छु । यो अन्यायविरुद्ध बोल्न किन डराउने ? यति धेरै जनताको विश्वास मलाई छ ।
म डडेलधुरामात्रै होइन, देश नै बनाउन हिँडेको मान्छे हुँ । सुदूरपश्चिमलाई पछाडि राखेर यो देश बन्दैन । म बझाङ डोटी र अरु जिल्ला पनि जान्छु ।
मतदातालाई धन्यवाद दिने कार्यक्रम छ ?
म गाउँमा गएर धन्यवाद दिन्छु । म उहाँहरूको समस्या बुझ्ने, सक्दो समाधान गर्ने प्रयास गर्छु ।
प्रतिकृया दिनुहोस्