नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप बन्द प्रशिक्षणमा समावेश गरेको हो ।
निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए ।
उनले भने, ‘सन्दीप हाम्रो योजनामा रहेको क्रिकेटर हो । उनलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनेका छौं,’ चौधरीले भने, ‘सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ ।’
क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए ।
छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।
बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि थिए ।
‘फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आएपछि उनले नियमित प्रशिक्षण सुरु गर्नेछन्,’ क्यानका क्रिकेट म्यानेजर विनोद दासले भनेका छन् ।
प्रतिकृया दिनुहोस्