बिहिबार , जेठ २५, २०८०

बूबाआमाको लागी ठूलो घर बनाउने सपना अधुरै रह्यो

माघ ४, २०७९ बुधबार 543

पोखराको सेती खोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो ।न अब कतै युट्युबका भित्ता, न मेला, महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न÷सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ ।

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगत्ले एउटा प्रतिभावान् कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गथ्र्यो”, गायक खत्रीले सम्झिनुभयो ।

गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गत वर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो ।

उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमापोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो । गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैँ, निराका लागि यो वर्ष (२०७९) नै अन्तिम बन्यो ।

गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भिमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ ।

प्रतिकृया दिनुहोस्