काठमाडौं – पोखरामा ज्यान गुमाउने मृतक परिवार र आफन्त यतिबेला पिडामा छन् । सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम सुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएसंगै पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौं आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सुरुमा शिक्षण अस्पताल महाराजगन्जमै हेलिकोप्टर अवतरण गर्ने तयारी गरिएपनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण भएको छ ।
विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताउनुभयो । थप शव लिन सोही हेलिकोप्टर पोखरा जानेछ । दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजी कार्य गरिरहेको क्यानले छ ।
प्रतिकृया दिनुहोस्