शनिबार , जेठ २७, २०८०

जाडो मौसममा बालेन टिमसहित इन्डोनेसिया जानुको रहस्य खुल्यो

पुष २२, २०७९ शुक्रबार 983

जाडो मौसममा बालेन टिमसहित इन्डोनेसिया जानुको रहस्य खुल्यो
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन इन्डोनेसिया भ्रमणमा गएका छन् । जाडो मौसममा उनी पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजिसी)को फाइनल हेर्न पत्नीसहित इन्डोनेसिया गएका हुन् ।

मंगलबार बेलुकी परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र रुटिन अफ नेपाल बन्द सञ्चालक भिक्टर पौडेलसँगै उनी इन्डोनेसिया भ्रमणमा निस्किएका हुन् ।

पीएमजिसीको फाइन खेल भोलि (जनवरी ६) देखि आइतबार (जनवरी ८)सम्म इन्डोनेसियाको राजधानी जकार्तामा हुँदैछ । आइतबार पीएमजिसीको फाइन सकिएपछि मेयर बालेनको टिम नेपाल फर्किनेछन् ।

भिक्टरले स्थानीय तहको निर्वाचनमा बालेन जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी ई(स्पोर्टस्सँग पनि जोडिएका छन् ।

नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ भिक्टरको आफ्नै हो । डीआरएस पीएमजिसीको फाइनलमा छनोट भएको छ ।

डीआरएससँगै नेपाली अर्को टोली ट्रेन्ड टु किल (टिटुके) पनि फाइनल खेल्दैछ । त्यसका लागि नेपाली दुवै टोली जकार्ता पुगेका छन् ।

गत महिना मलेसियामा भएको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै टीटूके फाइनलमा पुगेको थियो । डीआरएसले भने सर्भाइभल चरण र त्यसपछि लास्ट चान्स हुँदै फाइनल चरणमा स्थान पक्का गरेको थियो ।

सर्भाइभल चरणबाट १६ टिम लास्ट चान्सका लागि छनोट हुँदा डीआरएस एक सय १४ अङ्कसहित सातौँ भएको थियो । नेपाली अर्को टोली स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।

बालेनले बजेट सार्वजनिक गर्दा पनि सामाजिक विकास विभाग अन्तर्गत ई–स्पोर्टस् प्रतियोगिता आयोजना गर्नका लागि एक करोड रुपैयाँ विनियोजन समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्