शनिबार , चैत्र ११, २०७९

मलिका महत आफूले मन पराएको खोजेजस्तै यस्तो काम पाएपछी खुशीले गदगद !

पुष १४, २०७९ बिहिबार 175

रंग पत्रकारिताबाट फिल्म निर्देशनमा फड्को मारेका लक्ष्मण सुवेदीले आफ्नो कमब्याक फिल्मका लागि मुख्य भूमिकामा मलिका महतलाई अनुबन्धित गरेका छन् । मंगलबार दिउँसो उनीहरुबीच कागजी सम्झौता भएको हो । अनटाइटल प्रोजेक्टको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार भएकी हुन् । फिल्ममा उनी शीर्ष भूमिकामा रहने निर्देशक सुवेदीले जानकारी दिए ।

आगामी फागुन पहिलो साताबाट सुटिङ सुरु हुने फिल्ममा लक्ष्मण स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । फिल्मको प्रायः सुटिङ गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारीमा लक्ष्मण छन् । महिला प्रधान फिल्ममा मलिकाको भूमिका बलियो रहेको उनले बताए । चलचित्र विकास बोर्डमा दर्ता हुन बाँकी भएकाले फिल्मको नाम अहिलेलाई लुकाइएको छ ।

दिलासा कृएसनको ब्यानरमा निर्माण हुने फिल्ममा मलिकाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने जानकारी दिए । छायांकनमा निस्कनुअघि एकहप्ता वर्कसप पनि हुने उनको भनाई छ । उनले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने दाबी गरेका छन् । यसअघि उनले ‘एउटा साथी’ र ‘लालजोडी’ फिल्मको निर्देशन गरेका थिए ।

उनी खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले मलिकालाई लिएर नयाँ फिल्म बनाउन लागेका हुन् । उनले यो फिल्मपछि ‘ठगराज’ बन्ने जानकारी दिएका छन् । सुवेदीले यसअघि थुप्रै फिल्मको कथा, पटकथा तथा संवाद लेखिसकेका छन् ।

प्रतिकृया दिनुहोस्