आइतबार , जेठ २१, २०८०

लियोनेल मेस्सी सँग भेटेका नेपाली युवा भन्छन्- आई एम भेरी लक्की…

पुष ८, २०७९ शुक्रबार 450

काठमाडौँ,

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी १८ डिसेम्बरमा विश्वविजेता बन्दै घर फर्किसकेका छन्।सरल र शान्त व्यवहारका कारण विश्वभर उनका करोडौं फ्यान छन्। नेपाल र अर्जेन्टिनालाई जोडेर अहिले पनि अनेक किस्सा बनाइन्छ।खासगरी सन् १९८२ को फकल्यान्ड युद्धलाई लिएर नेपालमा अहिले पनि अनेक अफवाह चलिरहेका छन्।

तर सन् १९८६ मा म्याराडोनाले विश्वकप जितेसँगै अर्जेन्टिनाको पक्षमा बढ्न थालेको नेपाली फ्यानको क्रेज झन् चुलिँदो छ।म्याराडोना हुँदै मेस्सीसम्म आइपुग्दा नयाँ पुस्ताका फ्यानको संख्या झन् झन् बढ्दो छ। २०७२ को भूकम्पपछि मेस्सीले युनिसेफमार्फत नेपालका १४ वटा स्वास्थ्य संस्था बनाइदिएपछि उनलाई माया गर्ने सबै पुस्ताका नेपाली भेटिन्छन्।

म्याराडोनाको पालादेखि नै नेपलमा लाखौँ क्रेजी फ्यान देखिएका छन्। तर सन् १९६२ मै कूटनीतिक सम्बन्ध स्थापित भएको नेपाल र अर्जेन्टिनाबीच आवतजावत भने कम छ।
अर्जेन्टिनी पर्यटकहरु वार्षिक ३ हजार बढीको हाराहारीमा नेपाल आए पनि नेपाली हरु कमै पुग्छन्। नेपालबाट उच्च राजनीतिक नेतृत्व र व्यापारीहरु अर्जेन्टिना पुग्ने गरेका छन्। तर सर्वसाधारणहरु विरलै घुम्न जान्छन्।

पछिल्लो पुस्ताका अर्जेन्टिनी फ्यानमध्ये केही नेपालीले मेस्सी बार्सिलोनामा हुँदा नो क्याम्पमा पुगेर भेटेका छन्। पछिल्लो पटक कतार विश्वकपका क्रममा मेस्सीलाई भेट्ने एकजना नेपालीले त्यसको भिडिओ र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।कतारमा रोजगारीका क्रममा रहेका नेपाली युवा वीरेन्द्र राउत मेस्सीलाई भेट्ने एक भाग्यमानी युवा बनेका छन्। कतार विश्वकप भएको एक रंगशालामै ड्युटी रहेका उनले मेस्सीलाई भेटेर फोटो भिडिओ पनि खिच्न भ्याएका छन्।

मेस्सीले नै वीरेन्द्रको मोबाइल फोनबाट खिचेको उक्त भिडिओ अहिले भाइरल भइरहेको छ। राउतले मेस्सीले विश्वकप उचाल्नुअघि नै टिकटमा हालेको उक्त भिडिओ हेरेर अन्य नेपालीले उनलाई ‘लक्की पर्सन’ भन्दै प्रशंसा गरेका छन्। मेस्सीसँग उनले भिडिओसँगै फोटो पनि खिचाका छन्। उनले त्यसपछि मेस्सीलाई ‘निक्कै सहज र रमाइला’ भनेका छन्।

‘फाइनल्ली ड्रिम कम ट्रयु!’, उनले भनेका छन्, ‘मेरो सपना थियो मेस्सीलाई भेट्ने मौका पनि पाएँ।’मेस्सीलाई भेटेपछि आफूले ‘आई एम फर्म नेपाल’ भन्दा मेस्सी पनि खुसी भएको उनले बताए। ‘मलाई धेरै खुसी लाग्यो भिडिओ पनि उनैले खिचिदिए। आफैं सेल्फी पनि तानिदिए’, उनले भनेका छन्, ‘उनको जर्सीमा अटोग्राफ पनि दिएका छन्। मैले आफू नेपाली भनेपछि ‘ग्रेट’ भन्दा म खुसी भएँ।’

उनले मेस्सीले विश्वकप जितेपछि मेस्सीलाई बधाई दिएका छन्। ‘आई एम भेरी लक्की! आई गट मेस्सी अटोग्राफ’, उनले भनेका छन्।राउतले विश्वकपका क्रममा अन्य अर्जेन्टिनी स्टारहरुलाई पनि भेटेका छन्। त्यसक्रममा उनले रोड्रिगो डि पल र निकोलश ओटामेन्डीसँग पनि फोटो खिचाएका छन्।

मेस्सी अहिले विश्वकपको खुसी मनाउन अर्जेन्टिनामा छन्। उनी राजधानी ब्युनसआयर्समा खुसीयाली मनाएपछि गृहनगर रोजारियो पुगिसकेका छन्। कतारले विश्वकप फुटबल आयोजनाका लागि स्टेडियम बनाउने क्रममा १६ सयभन्दा धेरै नेपालीले ज्यान गुमाउनु परेको थियो।

नेपाल, भारत र बंगलादेशसहितका देशका ६ हजार ५ सय बढी मजदुरले ज्यान गुमाएपछि कतारको चर्को आलोचना भएको थियो। १८ डिसेम्बरमा सकिएको विश्वकप कतारमा रोजगारी गर्ने कयौँ नेपालीले स्टेडियममै पुगेर हेरेका छन्। ती स्टेडियम बनाउने कयौँ नेपाली युवा श्रमिकहरुले पनि मैदानमै प्रत्यक्ष विश्वकप हेरे। नेपालबाट पनि विश्वकप हेर्नैका लागि दर्शकहरु कतार पुगेका थिए।

प्रतिकृया दिनुहोस्