शनिबार , चैत्र ११, २०७९

अण्डालाई पछि पार्दै मेसीको फोटोले पायो इन्स्टाग्राममा सर्वाधिक लाइक

पुष ६, २०७९ बुधबार 192

विश्वकप फुटबलको उपाधि जितेसँगै लियोनेल मेसीको चर्चा अहिले उत्कर्षमा छ। कतार विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप जितेका लियोनेल मेसीले ट्रफी उचाल्दै गरेको फोटो चर्चित सामाजिक सञ्चाल इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनको उक्त फोटोले रेकर्ड बनाएको छ।

मेसीले इन्स्टाग्राममा राखेको उक्त फोटोले अहिलेसम्मकै बढी लाइक पाउने फोटोको कीर्तिमान बनाएको छ। यसअघि सन् २०१९ मा विश्व कीर्तिमान बनाएको अण्डाको फोटोले सर्वाधिक लाइक पाउने कीर्तिमान बनाएको थियो।

आइतबार फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना विश्वकप विजेता बनेसँगै मेसीले अनेकन कीर्तिमान बनाएका थिए। उनले उक्त फोटोपछि पनि निरन्तर इन्स्टाग्राममा फोटाहरु अपलोड गरिहरेका छन्। पछिल्लो समय उनले होटलमा ट्रफीसहित निदाइरहेको फोटो इन्स्टामा सेयर गरेका छन्।

मेसीको फोटोले दुई दिन पूरा नहुँदै कीर्तिमान बनाएको हो। मेसीको उक्त फोटोले मंगलबार साँझ ५ बजेसम्ममा ५ करोड ७९ लाख ३५ हजार भन्दा बढी लाइक पाएको छ। यसअघि विश्व रेकर्ड राखेको अण्डाको फोटोले सोही समयसम्ममा पाँच करोड ६२ लाख बढी लाइक पाएको छ। यी दुवै फोटोको लाइक बढ्ने क्रम जारी छ।

त्यस्तै, तेस्रो स्थानमा पोर्चुगलका फुटबलर क्रिश्चियानो रोनाल्डोले लुइ भितनको विज्ञापनका लागि राखेको आफू र मेसीको फोटोले सर्वाधिक लाइक पाएको छ। उक्त फोटोले हालसम्म चार करोड २१ लाख बढी लाइक पाएको छ।

प्रतिकृया दिनुहोस्